काठमाडौँ । हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जित्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
फाइनलमा हेल्प नेपालले उत्कृष्ट टिमवर्क, मजबुत ब्लक र आक्रामक स्म्यासको प्रभावशाली प्रदर्शन गर्दै तीनै सेट २५–२१ को समान स्कोरमा आफ्नो पक्षमा पार्यो।
प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हेल्प नेपालले उपाधिसँगै ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो। उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

