काठमाडौँ- नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको चौथो दिन सोमबार चार खेल आयोजना हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिनको पहिलो खेल बिहान १० बजे समूह ‘सी’ अन्तर्गत रुकुम पश्चिम ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टरबीच हुनेछ।
पुरुषतर्फ दिउँसो १२ बजे समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लबले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ। आर्मी लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनल पुग्ने लक्ष्यमा छ भने कीर्तिपुरले प्रतियोगितामा पहिलो खेल खेल्दैछ। आर्मीले यसअघि कोशी प्रदेशलाई ३–० ले हराएको थियो।
महिलातर्फ दुई खेल हुनेछन्। पहिलो खेलमा समूह ‘ए’ अन्तर्गत आर्मी र न्यु डायमन्ड आमनेसामने हुनेछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्।
दिनको अन्तिम खेल साँझ ४ बजे समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश खेलकुद परिषद्बीच हुनेछ। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्।

