काठमाडौं, असार ६, २०८२
अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०८१ को अवसरमा नेपाल रग्बी संघले बागमती प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा पहिलोपटक बागमती प्रदेशस्तरीय महिला रग्बी प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ।
उक्त प्रतियोगिता असार ७ र ८ गते, सिंहदरबारस्थित त्रिवेणी स्कुलको खेलमैदानमा हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट टोलीहरूको सहभागिता रहनेछ।
नेपाल रग्बी संघले प्रतियोगिताको सफल सञ्चालनका लागि कुल रु १ लाख ५० हजारको बजेट विनियोजन गरेको जानकारी दिएको छ।
कार्यक्रममा महिला खेलाडीहरूबीच आपसी प्रतिस्पर्धाका साथै रग्बीको प्रवर्द्धन र विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) तथा उदीयमान खेलाडी (राइजिङ प्लेयर) को रूपमा सम्मान गरिनेछ। साथै, सहभागी टोलीका सबै खेलाडीहरूलाई मनोरञ्जनात्मक उपहार सामग्री (फन प्याकेज) वितरण गरिनेछ।
यस प्रतियोगिता अन्तर्गत “रग्बी रमाइलो होस् घाम, बालुवा र छालसँग” भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै, “रग्बी र वातावरण संरक्षण” भन्ने अवधारणालाई समेटेर “रुख रोपौँ, रग्बी खेलौँ” भन्ने अभियान पनि सञ्चालन गरिने नेपाल रग्बी संघले जनाएको छ।
नेपाल रग्बी संघका प्रवक्ता तथा कोषाध्यक्ष दिपक अधिकारीले सम्पूर्ण सञ्चारकर्मीहरूलाई कार्यक्रममा सहभागिता जनाई सहकार्य गरिदिन अनुरोध गर्दै सबैलाई धन्यवाद प्रकट गरेका छन्।

