काठमाडौँ- अष्ट्रेलियाको मेलबर्न शहरमा १५औँ संस्करणको ‘कान्डेल कन्सल्टेन्सी कप’ आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२६ को मार्च ७ र ८ तारिखका दिन मेलबर्नस्थित डारेबिन अन्तर्राष्ट्रिय खेलकुद केन्द्रमा सञ्चालन हुनेछ।
यस प्रतिष्ठित प्रतियोगितामा ‘खुला उमेर समूह’ र ‘३५ वर्षमाथि (फरेभर योङ्ग)’ गरी दुई विधामा प्रतिस्पर्धा गरिनेछ। सिड्नी, क्यानबेरा र एडिलेडलगायत अष्ट्रेलियाका विभिन्न शहरबाट टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
हालै सम्पन्न विशेष समारोहबीच प्रतियोगिताको आधिकारिक तालिका सार्वजनिक गरिएको छ। खुला उमेर समूहमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा होमवुस राइनो फुटबल क्लब (सिड्नी), खुकुरी फुटबल क्लब (क्यानबेरा), नेपवोर्न फुटबल क्लब र यती फुटबल क्लब रातो रहेका छन्।
समूह ‘बी’ मा सिद्धकाली फुटबल क्लब (एडिलेड), युनाइटेड फुटबल क्लब, रोयल फुटबल क्लब र हिमालयन फुटबल क्लब परेका छन्।
समूह ‘सी’ मा एभरेष्ट युनाइटेड फुटबल क्लब, रोयल वेस्टर्न फुटबल क्लब, एनी फुटबल क्लब र चन्द्र सूर्य फुटबल क्लब रहेका छन्।
समूह ‘डी’ मा यती फुटबल क्लब ब्लु, जगजित श्रेष्ठ एकेडेमी (एडिलेड), द हिमालयन टाइगर्स र हिमालयन युथ क्लब (सिड्नी) रहेका छन्।
लिग कम नकआउट प्रणालीका आधारमा सञ्चालन हुने यो प्रतियोगिता अष्ट्रेलियामा नेपाली क्लबहरूबीचको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मानिन्छ। प्रतियोगितामा कुल २२ हजार अष्ट्रेलियन डलर पुरस्कार राशि निर्धारण गरिएको छ।
खुला उमेर समूहका विजेताले १२ हजार डलर तथा उपविजेताले ४ हजार ५०० डलर नगदसहित ट्रफी र पदक प्राप्त गर्नेछन्। ‘फरेभर योङ्ग’ विधातर्फ विजेताले २ हजार ५०० डलर र उपविजेताले १ हजार डलर पुरस्कार पाउनेछन्। साथै विभिन्न व्यक्तिगत विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
गत वर्ष सम्पन्न १४औँ संस्करणको फाइनलमा यती फुटबल क्लबले रोयल वेस्टर्न क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।
प्रतियोगितामा नेपालका राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका चर्चित खेलाडीहरूको पनि सहभागिता रहने बताइएको छ। प्रतियोगिताले अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी भाइचारा र एकताको भावना अभिवृद्धि गर्ने विश्वास यती फुटबल क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक सज्जन शर्माले व्यक्त गरेका छन्।
