काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा सुरुआती चार खेल जितेर वुधबार शीर्षस्थानमा रहन सफल भएका छन् । यससँगै उनले प्रतियोगितामा एकल अग्रता लिएका छन् ।

हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेल हल सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले चौथो दिन वुधबार द ब्रिटिश कलेजका सजल न्यौपानेलाई पराजित गर्दै शतप्रतिशत जितलाई कायम राखेका हुन् । अभिक प्रतियोगितामा शीर्ष वरीयताका खेलाडी हुन् । यसअघि तीन खेल जितेका १६९७ रेटेड सजलले पहिलो हार बेहोरेका हुन् ।

नब्बे मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय रहेको हिमालयन च्यालेन्जर्समा पुष्पसदन स्कुलका लियोन महर्जनको यात्रामा पनि पूर्णविराम लागेको छ । उनले चौथो चरणमा आएर १६०६ रेटेड रोहित श्रेष्ठविरुद्ध हार बेहोरे । मातृभूमि स्कुलका प्रवीर केसी (१४४१) ले हार्दिक पन्त (१६०५) सँग बराबरी खेल्दै अंक बाँडे । अनरेटेड विमश लोहनीले अग्रता आचार्य (१४७४ रेटेड) सँगको खेल बराबरीमा टुंग्याए ।

चौथो चरणमा उजिभानी कँडेलले अनमोल राई, सात्विकमान तुलाधरले निहाना श्रेष्ठ, शुभांग प्रधानले निवा राई, आशिर्वाद थापाले अरिज राई, अभिक रेग्मीले ईश्वर लामा, वियांका गौतमले विराज सरिया, नायुमा मगरले रियान श्रेष्ठ, रेयांश महर्जनले सूर्यप्रताप सिंह कार्की, रेयांश खनालले अरण्य तुलाधर, रेयांशु पौडेलले श्रेयांश सापकोटा र ओजस्वी श्रेष्ठले अभियान राईलाई पराजित गरे ।

युवा खेलाडीको स्तरोन्नतिको लागि आयोजित हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ । चौथो चरणको खेल सकिँदा अभिक शाह चार जितसहित १२ अंक बनाएर शीर्षस्थानमा रहे । उनले पाँचौ चरणमा सात्विकमानविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । सात्विकसहित रोहित, शुभांग, आशिर्वाद, लियोन र उजिभानीले समान तीन जितसँगै नौ अंक जोडेका छन् ।

स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक खेल भइरहेको छ । कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ४ गतेसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि उपयुक्त मानिएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमीकी संस्थापक मोनालिशा खम्बू बताउँछिन् । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन् ।

हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile