नेपाल ओलम्पिक समिति (एनओसी) ले एलए ओलम्पिक खेलकुद २०२८ लक्षित ‘रोड टु एलए २०२८’ खेलाडी छात्रवृत्ति कार्यक्रम औपचारिक रूपमा घोषणा गरेको छ। उक्त कार्यक्रमको घोषणा तथा हस्ताक्षर गत डिसेम्बर १९ मा काठमाडौंमा गरिएको हो।
यो कार्यक्रम नेपालका उत्कृष्ट खेलाडीलाई दीर्घकालीन रूपमा सहयोग गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्ने उद्देश्यले सुरु गरिएको एनओसीले जनाएको छ।
ओलम्पिक खेलाडी छात्रवृत्ति कार्यक्रमअन्तर्गत विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका आठ खेलाडी छनोट भएका छन्। उनीहरूले २०२५ सेप्टेम्बर १ देखि एलए ओलम्पिक २०२८ सम्म प्रति महिना १ हजार १ सय २५ अमेरिकी डलर छात्रवृत्ति प्राप्त गर्नेछन्। उक्त सहयोग उच्च प्रदर्शन तालिम, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता तथा खेलाडीको जीविकोपार्जनका लागि प्रयोग गरिनेछ।
एलए ओलम्पिक २०२८ लक्षित छात्रवृत्ति प्राप्त गर्ने खेलाडीहरू:
मनिता श्रेष्ठ प्रधान – जुडो
प्रिन्स दाहाल – ब्याडमिन्टन
इभाना थापा – टेबल टेनिस
शिवाली गुरुङ – टेनिस
उषा खनाल – साइकलिङ
टेन्जिन बर्टिन राई – स्पोर्ट क्लाइम्बिङ
सद्भाव आचार्य – गल्फ
एर्विन श्रेष्ठ – पौडी
एनओसीका अनुसार उक्त कार्यक्रम खेलाडी–केन्द्रित, दिगो र संरचित सहयोग प्रणाली हो, जसले आर्थिक अवरोध कम गर्दै खेलाडीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षण र प्रतिस्पर्धा गर्न सहयोग पुर्याउनेछ।

