काठमाडाैँ। आयोजक बिआइए इन्स्टिच्युटले नेपालमै पहिलोपटक आयोजना भएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ।

बिहीबार बौद्धस्थित डाउनटाउनमा सम्पन्न खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५–३ स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्वीलचेयर रग्बी खेलको पहिलो औपचारिक खेल हो।

विजेता टोलीले ट्रफी र मेडल प्राप्त गरेको छ। खेलाडीहरूलाई नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकाेटा, गोकर्णेश्वर–५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, अमेरिकी दूतावासका राजनीतिक अधिकृत ब्लेक गिरागोस, बिआइएका कार्यकारी निर्देशक गोकर्ण ढुंगाना तथा नेपाल स्पाइनल इन्जरी पुनर्स्थापनाका डा. राजु ढकाललगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा बिआइएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी घोषित भए भने स्पाइनल इन्जरी संघ नेपालका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए। दुवै खेलाडीले पुरस्कारस्वरूप एयर कुशन प्राप्त गरे।

बिआइएका कप्तान तथा स्पोर्ट्स डिपार्टमेन्टका संयोजक दिलिप सापकोटाले लामो समयको प्रयासपछि ह्वीलचेयर रग्बी खेल सफलतापूर्वक आयोजना गर्न सकिएको बताए।

उनले भने, “पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई समाजसँग जोड्ने, उनीहरूलाई घरबाहिर ल्याउने र खेलमार्फत समावेशी बनाउने नै यस खेलको मुख्य उद्देश्य हो।”

उनका अनुसार ह्वीलचेयर रग्बी केवल खेल मात्र नभई सामाजिक संवेदनशीलता र समावेशीकरणको माध्यम हो। “अब यो गतिविधि कुनै एक संस्थाले मात्र गर्ने नभई संगठित रूपमा निरन्तर अघि बढ्नुपर्छ,” उनले थपे।

नेपाल रग्बी संघसँग खेललाई निरन्तरता दिन आग्रह गर्दै उनले प्रशिक्षण तथा प्रतियोगिताहरू संस्थागत र विवादरहित ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए। “अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूले खेलमार्फत राष्ट्र र समाजका लागि योगदान दिन सक्ने वातावरण बनाइनुपर्छ,” उनले भने।

बिआइए इन्स्टिच्युटले अपाङ्गता भएका व्यक्तिहरूको सीप अभिवृद्धि, क्षमता विकास र आत्मनिर्भरता बढाउने उद्देश्यका साथ काम गर्दै आएको जनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile