काठमाडौं। युएइमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार भब्य स्वागत गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासंघका पदाधिकारी, राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

डिसेम्बर ३ देखि १४ तारिखसम्म प्रतियोगिताको ५४ केजी तौलसमूहमा राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका चन्द्रले  अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउदै कांस्य पक्का गरेका थिए । कांस्यसंगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि सुनिश्चित गरेका थिए । सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौं स्थानमा रहेका कजाखस्तानका खेलाडीसंग पराजित भएका थिए । विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केवाज हुन् ।
चन्द्रसंगै प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी थिए । ४८ केजी लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दिपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । लालप्रसादले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते । बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए । प्रशिक्षकमा प्रकाश थापा मगर, दिपक महर्जन र सुजित पुन मगर रहेका थिए ।

कार्यक्रममा सदस्य–सचिव मेहताले ऐतिहासिक उपलब्धी हासिल गरेकोमा चन्द्रलाई बधाई दिदै चन्द्रले जितेको पदक सारा नेपालीलाई हर्षित बनाएको बताए ।
चन्द्रले सबैको साथ र सहयोगले यो उपलब्धी सम्भव भएको बताउदै अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताए ।
बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले चन्द्रको पदकले बक्सिङलाई मात्र नभइ सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गरे । बक्सिङ महासंघका सचिव पुस्करराज पन्तले कार्यक्रम सञ्चालन गरेका   थिए ।

आइतबारै दुबइमा भएको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा रजत पदक जित्न सफल स्वीकृत न्यौपानेसहितको टोलीलाई पनि स्वागत गरिएको थियो ।
सदस्य–सचिव मेहता, राखेप कार्यकारी समितिका सदस्य भट्टराई, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, राष्ट्रिय पारालिम्पिक कमिटीका पदाधिकारी, अखिल नेपाल टेबलटेनिस संघका पदाधिकारीलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile