काठमाडौं । अफ–रोड ट्रायथलन र साहसिक खेलहरूको प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड एक्टेरा प्लानेटअन्तर्गत नेपालमा दोस्रो संस्करणको एक्टेरा नेपाल २०८२ मंसिर १३ गते पोखरास्थित बेगनास तालमा हुने भएको छ।
पेरिविङ्कल्स सर्भिस प्रालिको आयोजनामा हुने प्रतियोगिताबारे आइतबार त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न विधा समावेश गरिएको जानकारी दिइयो। प्रतियोगितामा पूर्ण दूरी ट्रायथलन, स्प्रिन्ट दूरी ट्रायथलन, डुआथलन, मिश्रित रिले र ट्रेल रन रहनेछन्।
विभिन्न विधामा समावेश खेल
पूर्ण दूरी ट्रायथलन : १.५ किलोमिटर पौडी, २८ किलोमिटर माउन्टेन बाइकिङ (१४–१४ किलोमिटरका दुई ल्याप) र १२ किलोमिटर ट्रेल रन।
स्प्रिन्ट दूरी ट्रायथलन : ७५० मिटर पौडी, १४ किलोमिटर बाइक राइड र ६ किलोमिटर ट्रेल रन।
डुआथलन : ६ किलोमिटर ट्रेल रन, १४ किलोमिटर माउन्टेन बाइक राइड र पुनः ६ किलोमिटर ट्रेल रन।
मिश्रित रिले : ७५० मिटर पौडी, १४ किलोमिटर बाइक राइड र ६ किलोमिटर ट्रेल रन।
ट्रेल रन : १२ किलोमिटर तथा ६ किलोमिटर दौड।
सहभागी संख्या
आयोजकका अनुसार हालसम्म ३० अन्तर्राष्ट्रिय खेलाडीले नाम दर्ता गराइसकेका छन्। साथै, प्रतियोगितामा करिब १०० नेपाली खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।
पुरस्कार व्यवस्था
पूर्ण दूरी ट्रायथलन र १२ किलोमिटर ट्रेल रनका महिला तथा पुरुष विजेतालाई ३० हजार रुपैयाँ, उपविजेतालाई २० हजार, र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
आयोजकले यो प्रतियोगिताले नेपालको अफ–रोड एथलेटिक्स र साहसिक खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गरेको छ।

