काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीमा अनुबन्ध भएका अफगानिस्तान स्टार नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका छन् ।
शुक्रबार राति तीनै खेलाडी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरुलाई कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र अन्य प्रतिनिधिले स्वागत गरेका हुन् । कोल्सावाल लगातार दोस्रो पटक एनपिएल खेल्दैछन् भने जाद्रन र डावड पहिलो पटक एनपिएल खेल्न लागेका हुन् ।
भारतकै प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका थिए । अब, कर्णाली याक्समा आवद्ध ६ मध्ये अस्ट्रेलियाका विलियम बासिस्टो र स्कटल्यान्डका मार्क वाट नेपाल आउन बाँकी छ ।
कर्णाली याक्सले छैटौं विदेशी खेलाडीमा कोल्सावालालाई अनुबन्ध गरेको थियो । ३६ वर्षीय भारतीय आक्रमक ब्याटरले दोस्रो पटक कर्णाली याक्सबाट खेल्न लागेका हुन् । विकेट किपर समेत रहेका कोल्सावालले पहिलो संस्करण दुई खेल खेल्दा चितवनविरुद्ध अर्धसतक बनाएका थिए । नेपाली नेपाली क्रिकेटको लागि परिचित खेलाडी समेत हुन् । यसअघि धनगढी प्रिमियर लिग पनि खेलेका थिए ।
अफगानिस्तानका जाद्रन पाचौं विदेशी खेलाडीको रुपमा अनुबन्ध भएका थिए । ३२ वर्षीय बायाँ हाते ब्याटरले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८ सय ३० रन बनाएका छन् । १३७.८० को औसतमा रन बनाउँदा ८ अर्धसतक बनाए । एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन् ।
यता, पहिलो पटक एनपिएल खेल्न लागेका म्याक्स ओ डावड भने तेस्रो विदेशी खेलाडीको रुपमा कर्णालीमा अनुबन्ध भएका हुन् । ३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी–२० खेल खेलिसकेका छन् । जसमा उनले २ हजार तीन सय ९ रन बनाएका छन् । उनले एक सतकसहित १६ अर्धसतक बनाएका छन् ।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।

