झापा – झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ।

आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच रोमाञ्चक प्रतिस्पर्धा सुरु हुनेछ।

दुवै टोलीले फाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन्।

यसअघि नेपाल पुलिस क्लबले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। उता, संकटा एफसीले झापा एफसीलाई ६–० गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।

संकटाले यसअघि विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पनि पराजित गरिसकेको छ। साथै टोलीमा हाल ५–६ जना यू–२० राष्ट्रिय खेलाडीहरू र भुटानकी एक राष्ट्रिय खेलाडी समेत समावेश छन्। यी उदीयमान तथा अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरूको उपस्थितिले टोलीलाई थप बलियो बनाएको छ। त्यसैले संकटा अहिले उच्च मनोबलका साथ पुलिसलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिने छ।

तर, नेपाल पुलिस क्लब पनि बलियो दाबेदारका रूपमा मैदानमा उत्रिँदैछ। पुलिस टोलीमा राष्ट्रिय खेलाडी रेखा पौडेल, उषा नाथ ,मीना देउवा, पूजा राना लगायतका अनुभवी खेलाडीहरू रहेका छन्। यी खेलाडीहरूको अनुभवका कारण टोली संकटाविरुद्ध जित निकाल्ने लक्ष्यमा रहेको छ।

आजको खेलको विजेता टोलीले फाइनलमा विभागीय टोली एपीएफ वा त्रिभुवन आर्मी क्लब मध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

दर्शकका लागि टिकट दर सामान्यतर्फ २०० र ३०० रुपैयाँ तथा भिआइपीतर्फ १,००० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।

विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन्।

हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile