झापा, कात्तिक १९। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज हुने तेस्रो क्वार्टरफाइनल खेलमा संकटा फुटबल क्लब काठमाडौं र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

आजको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन्। दुवै टोली केही महिनाअघि सम्पन्न महिला लिग छनोट प्रतियोगिताबाट महिला लिगमा छनोट भएका टिम हुन्, जसले खेललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

संकटा टोलीमा नेपाल यू–२० राष्ट्रिय टोलीका खेलाडीहरूको बाहुल्यता रहेको छ। साथै, टोलीमा भुटानकी राष्ट्रिय खेलाडी छिरिङ याङ्देन पनि समावेश छिन्, जसले टोलीको आक्रमणमा नयाँ ऊर्जा थप्ने अनुमान गरिएको छ।

त्यस्तै झापा एफसी आज आफ्नै मैदानमा र आफ्नै समर्थकको उपस्थितिमा खेल्दैछ, जसले टोलीलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्नेछ। स्थानीय दर्शकहरूको उत्साहले घरेलु टोलीलाई जितका लागि प्रेरित गर्ने विश्वास गरिएको छ।

महिला लिग छनोटको खेलमा यसअघिनै यी दुवै टोलि एकपटक आमनेसामने भइसकेका छन्। सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा संकटा ४-० गोलले विजयी भएको थियो। समूह ‘बी’ बाट संकटा समूहविजेताका रुपमा महिला लिगमा छनोट हुदा झापा भने राप्ती एफसिविरुद्ध प्ले अफमा १-० गोलको जीत निकाल्दै महिला लिगका लागि छनोट भएको थियो। आज झापा बदला लिने लक्ष्यमा रहदा संकटा दोस्रो भेटमा पनि जीत निकाल्ने लक्ष्यमा हुनेछ।

दर्शकका लागि टिकट दर सामान्यतर्फ १०० र २०० रुपैया रहदाँ, भिआइपीतर्फ १,००० रुपैयाँ रहेको आयोजकले जनाएको छ।

यसअघि विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौं ले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लब लाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।
विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
यसबाहेक, हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *