झापा- झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौं ले शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । एपिएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लब लाई एकपक्षीय खेलमा ७–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९औं मिनेटमा सविता राना मगर को गोलमार्फत अग्रता लियो । त्यसपछि ३८औं मिनेटमा अनिता बस्नेत ले अर्को गोल थपिन् । पहिलो हाफको अन्त्यतिर एपिएफले लगातार दुई गोल गर्दै खेललाई पूरै आफ्नो पकडमा ल्यायो — ४१औं मिनेटमा रश्मिकुमारी घिसिङ ले गोल गरिन् भने इन्जुरी समयमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफलाई ५–० मा समाप्त पारिन् ।

दोस्रो हाफमा पनि एपिएफको आक्रमण रोकिएन । ७१औं मिनेटमा अनिता केसी ले गोल गर्दै अन्तर ६–० मा पुर्‍याइन् । त्यसपछि ८४औं मिनेटमा पुनः रश्मिले शानदार फिनिशिङ गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीलाई सहज जित दिलाइन् ।

सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले केही अवसर सिर्जना गरे पनि एपिएफकी गोलरक्षक अञ्जना राना ले उत्कृष्ट बचाउ गर्दै क्लिनसिट कायम राखिन् ।

एपिएफका प्रशिक्षक जिबेश पाण्डे ले टोलीले योजनाअनुसार उत्कृष्ट प्रदर्शन गरेको बताए । “खेलाडीहरूले सुरुदेखि अन्त्यसम्म सन्तुलित फुटबल खेले,” उनले भने ।
त्यसैगरी सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटिया ले हारलाई सिकाइको अवसरका रूपमा लिँदै भविष्यमा अझ बलियो रूपमा फर्किने बताइन् ।

रश्मिकुमारी घिसिङ खेलकी प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

भोलि हुने तेस्रो क्वार्टरफाइनलमा संकटा फुटबल क्लब काठमाडौं र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

एलभिडी झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउने छन् । साथै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले सम्मान गरिनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *