काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले देशका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमानपछि एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता दुई दिन पछाडि सारिएको छ।

आयोजक झापा महिला गोल्डकपका अनुसार प्रतियोगिता शनिबार (कात्तिक १५ गते) बाट सुरु हुने तय गरिएको थियो, तर वर्षाको कारण उद्घाटन खेल अब कात्तिक १७ गते सोमबार हुनेछ। सचिवालय प्रमुख हिमाल खरेलका अनुसार यसअघि सार्वजनिक गरिएको खेल तालिका दुई दिन पछाडि सारिएको छ।

उद्घाटन खेलमा नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि कात्तिक १८ गते दोस्रो खेलमा नेपाल एपीएफ फुटबल क्लबले भारत सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबसँग खेल्नेछ।
तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लब र झापा फुटबल क्लबबीच हुनेछ भने चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते, अन्तिम सेमिफाइनल खेल कात्तिक २२ गते, र फाइनल खेल कात्तिक २४ गते हुनेछ।

यसपटकको झापा महिला गोल्डकपलाई देशकै आकर्षक र भव्य महिला फुटबल प्रतियोगिता बनाउने लक्ष्य लिइएको आयोजक समितिले जनाएको छ। अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता स्थल शिवसताक्षीस्थित दुधे रंगशालामा खेलिनेछ, जसका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ।

रंगशालामा तीन हजार दर्शक क्षमताको पक्की प्यारापिटमा कुर्सी जडान गरिएको छ भने १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट पनि निर्माण गरिएको छ। विशेष अतिथि र भिआईपी दर्शकका लागि ३०० वटा विशेष कुर्सीको व्यवस्था गरिएको छ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार रुपैयाँ र ट्रफी दिइनेछ।

प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ। आयोजकका अनुसार खेलमैदान र सम्पूर्ण व्यवस्थापनलाई उत्कृष्ट, भव्य र व्यवस्थित बनाउन विशेष तयारी गरिएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *