काठमाडौं — दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

विराटनगर किङ्सले शुक्रबार सामाजिक सञ्जालमार्फत डुप्लेसीलाई अनुबन्ध गरिएको जानकारी सार्वजनिक गरेको हो। यसअघि टोलीले क्रमशः विभिन्न “हिन्ट” मार्फत खेलाडीको परिचय खुलाउँदै आएको थियो। तेस्रो हिन्टमा दक्षिण अफ्रिकाका पूर्व खेलाडी एबी डिभिलियर्सको तस्बिर प्रयोग गरेर केही अलमल सृजना गरे पनि चौथो हिन्टमा फाफले आईपीएलमा लखनउ सुपर जायन्ट्सविरुद्ध प्रहार गरेको विशाल छक्काको दृश्य प्रयोग गरिएको थियो। त्यसपछि फाफ नै उक्त रहस्यमय खेलाडी भएको प्रष्ट भएको हो।

दक्षिण अफ्रिकाका पूर्व कप्तान रहेका डुप्लेसी विश्व क्रिकेटका चर्चित खेलाडीमध्ये एक हुन्। उनले दक्षिण अफ्रिकाको तर्फबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० भन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। हाल उनी विभिन्न विश्वव्यापी फ्रेन्चाइज लिगमा आबद्ध छन्।

विराटनगर किङ्सले डुप्लेसीको आगमनसँगै टोलीलाई अझ बलियो बनाउने योजना सार्वजनिक गरेको छ। टोली व्यवस्थापनका अनुसार, “फाफजस्तो अन्तर्राष्ट्रिय अनुभव भएको खेलाडीको उपस्थितिले नेपाली क्रिकेटरलाई ठूलो प्रेरणा मिल्नेछ।”

एनपीएलको दोस्रो संस्करण मंसिर महिनामा हुने तयारीमा छ। यसपटकको लिगमा विदेशी खेलाडीहरूको सहभागिता उल्लेखनीय हुने अपेक्षा गरिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile