काठमाडौँ- इङ्लिस च्याम्पियनसिपमा प्रेस्टन नर्थ एन्डले नाटकीय पुनरागमन गर्दै सेफिल्ड युनाइटेडलाई ३–२ ले पराजित गरेको छ। क्लबका पूर्व खेलाडी ड्यानियल जिब्बिसनले अन्तिमतिर गरेको विजयी हेडर गोल निर्णायक बन्न पुग्यो।

बोर्नमाउथबाट ऋणमा प्रेस्टन आएका जिब्बिसनले माइकल कुपरलाई शक्तिशाली हेडरमार्फत पराजित गर्दै ‘लिलीह्वाइट्स’ लाई पुनः शीर्ष ६ मा पुर्‍याए। यसअघि उत्कृष्ट फर्ममा रहेका सेफिल्ड युनाइटेडको दुई खेलको जितको श्रृंखला पनि यसै गोलले तोडिएको हो।

खेलको पहिलो हाफ पूरै सेफिल्डको नियन्त्रणमा देखिएको थियो। आन्द्रे ब्रुक्स र क्यालम ओ’हेयरका गोलबाट पाहुना टोली २–० ले अघि पुगेको थियो। तर पहिलो हाफको अन्तिम थप समयमै लुइस डोबिनले उत्कृष्ट फिनिसिङ गर्दै गोल फर्काएपछि खेलको लय बदलियो।

दोस्रो हाफ सुरु भएको ५४ सेकेन्डमै कप्तान जाप्हेट तान्गाङ्गाको आत्मघाती गोलले खेल बराबरीमा फर्कियो। त्यसपछि घरेलु समर्थकको ऊर्जामय समर्थनबीच प्रेस्टनले आक्रमण तीव्र बनाउँदै निर्णायक क्षण सिर्जना गर्‍यो।

अन्द्रिजा भुक्सेभिकले दायाँ छेउबाट रक्षा छिचोल्दै गरेको क्रसलाई जिब्बिसनले हेडमार्फत जाली चुमाएका थिए। ३५ खेल मात्र खेलेर सेफिल्ड छोडेका उनले पुरानो क्लबविरुद्ध गरेको यो गोल ‘स्विट मोमेन्ट’ बनेको छ।

जिब्बिसनको गोलपछि प्रेस्टन थप अवसरहरूमा चुक्दा पनि अग्रता जोगाउन सफल रह्यो। अन्त्यतर्फ सेफिल्डका डिब्रिल सुमारे र ह्यारिसन बरोसले बराबरी गर्ने सुन्दर अवसर गुमाएका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile