काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत अन्तिम खेलमा नेपाल आज सामोआसँग भिड्दै छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराएमा ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जित्नेछ । नेपालले यसअघि समूह चरणमा कुवेत र जापानलाई पराजित गरेको थियो भने सुपर सिक्समा युएईलाई १ रन, कतारलाई ५ रन र ओमानलाई ३८ रनले हराएको थियो ।
विश्वकपका लागि पहिले नै छनोट भइसकेको नेपाल आजको खेलमा अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाललाई कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी, र नन्दन यादवजस्ता खेलाडीको साथ हुनेछ । ओमानविरुद्धको पछिल्लो खेलमा कुशलले ६९ रन प्रहार गरेका थिए भने सोमपालले दुई विकेट लिएका थिए ।
सामोआ भने सुपर सिक्समा जितविहीन रहँदै आज नेपालको सामना गर्दैछ । क्यालेब जस्मतको कप्तानीमा रहेको सामोआ बेन्जामिन मैलाता, सोलोमन नाश र रोस टेलरजस्ता खेलाडीको साथ मैदान उत्रनेछ । यो दुवै देशबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ ।

