काठमाडौँ – असोज ३१ गते नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ । आगामी मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो ।
बिहिबार आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गर्नु भयो । खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताउनु भयो ।
उहाँले भन्नु भयो,‘नेपालगन्जमा हुन लागेको यो कार्यक्रम निकै राम्रो छ । खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्छ । अवार्ड कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद । कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु ।’ खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुन लागेको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिनेछ ।
रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएको ब्राण्ड केल्मीसँग सहकार्य गर्ने अवसरले अवार्डलाई थप प्रभावकारी बनाउने लुम्बिनी स्पोर्टस अवार्डको संयोजक शाहले बताउनु भयो । अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं ।’
अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने शाहले बताउनु भयो । क्याप्सनः सम्झौता पत्र आदान–प्रदान गर्दै लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह (बायाँ) र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलिया ।

