काठमाडौँ — अर्जेन्टिनाले फिफा यू–२० विश्वकपको फाइनलमा प्रवेश गर्दै अब मोरक्कोसँग ऐतिहासिक भिडन्त तय गरेको छ । अर्जेन्टिनाको जितका नायक बने — दोस्रो हाफमा मैदान प्रवेश गरेका मातेओ सिल्भेट्टी, जसको उत्कृष्ट गोलले अर्जेन्टिनालाई कोलम्बियामाथि १–० को जित दिलायो ।
खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो । दुबै टोलीले एकअर्कामाथि बलियो दबाब सिर्जना गरे पनि निर्णायक गोल गर्न सकेनन् । ४२औं मिनेटमा कोलम्बियाका जुआन अरिजालाले गोलको उत्कृष्ट मौका पाए पनि उनको प्रहार थोरै फरक गर्दै बाहिरियो ।
दोस्रो हाफ सुरु हुनासाथ खेल रोचक बन्यो । ५५औं मिनेटमा अर्जेन्टिनाका डिफेन्डर टोबियास रामिरेजले कोलम्बियाका फर्वार्ड एमिलियो अरिस्टिजाबालको खतरनाक प्रयासलाई गोल लाइनमै क्लियर गरे । त्यसपछि गोलकिपर सान्तिनो बार्बीले पनि लगातार दुई उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा राखे ।
७२औं मिनेटमा अर्जेन्टिनाले अन्ततः गोलको पर्खाइ तोड्यो । जियानलुका प्रेस्टियानीको सटीक पासमा मातेओ सिल्भेट्टीले आफ्नो जुत्ताको बाहिरी भागबाट सुन्दर प्रहार गर्दै गोलकिपर जर्डन गार्सियालाई पराजित गरे । यो गोल मेजर लिग साकर (एमएलएस) क्लब इन्टर मियामीमा लियोनेल मेस्सीसँगै खेल्ने सिल्भेट्टीको उत्कृष्ट क्षण बनेको थियो ।
गोल खाएपछि कोलम्बियाले आक्रमक प्रयास जारी राख्यो, तर ७८औं मिनेटमा जोन रेन्टेरियाले अर्जेन्टिनाका डिफेन्डर डिलन गोरोसिटोलाई तानेर दोस्रो पहेंलो कार्ड पाएपछि खेलबाट निष्कासित भए ।
अर्जेन्टिनाले त्यसपछि खेल नियन्त्रणमा राख्दै अन्तिम सिटी बजेसम्म अग्रता जोगायो । यस जितसँगै अर्जेन्टिना सन् २००७ पछि पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको छ ।

