काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल आज भियतनामविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार साँझ सवा ६ बजे हो चि मिन्ह सहरको थोङ न्हाट स्टेडियममा हुने यो खेल औपचारिक रूपमा नेपालको ‘होम म्याच’ हो । तर दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहरिएपछि नेपाल आफ्नै घरेलु खेल विपक्षीको मैदानमा खेल्न बाध्य भएको छ ।

नेपालका लागि यो खेल विशेष पनि छ — कारण, राष्ट्रिय टोलीका अनुभवी डिफेन्डर रोहित चन्द आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । कप्तान किरणकुमार लिम्बुपछि यो उपलब्धि हासिल गर्ने रोहित दोस्रो नेपाली खेलाडी हुन् ।

१६ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा निरन्तर समर्पण र मेहनतले नेपाली फुटबलमा महत्वपूर्ण योगदान पुर्‍याएका रोहितले भने आफ्नै समर्थकबीच शतकीय खेल खेल्न नपाएकोमा दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘घरेलु मैदानमा आफ्ना समर्थकको बीचमा खेल्न पाउने रहर थियो । अब अवे मैदानमै खेलेर देशका लागि सर्वोत्तम प्रदर्शन गर्ने प्रयास गर्छु ।’

नेपालले यसअघि समूह ‘एफ’ अन्तर्गत तीनै खेलमा हार बेहोरेको छ । लाओस, मलेसिया र भियतनामविरुद्ध पराजित भएको नेपाल हालसम्म अंकविहीन छ । आजको खेलमा हार बेहोरे नेपाल दुई खेलअघि नै छनोटबाट बाहिरिनेछ ।

मुख्य प्रशिक्षक म्याट रसले भने टिम सुधारको क्रममा रहेको र आजको खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘हामी पछिल्ला गल्तीबाट सिक्दैछौं । भियतनाम बलियो टोली हो, तर हामी उनीहरूका लागि चुनौती बन्न सक्छौं ।’

नेपालले गत साता भियतनामसँग भएको पहिलो लेगमा ३–१ ले हार बेहोरेको थियो । त्यो खेलमा सनिस श्रेष्ठले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए भने लाकेन लिम्बूले रातो कार्ड खाँदा नेपाल दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको थियो ।

समूह ‘एफ’ मा मलेसिया लगातार तीन खेल जित्दै ९ अंकसहित शीर्षस्थानमा छ । भियतनाम ६ अंकका साथ दोस्रो स्थानमा, लाओस ३ अंकका साथ तेस्रोमा र नेपाल अंकविहीन चौथो स्थानमा रहेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *