काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र आन्तरिक असन्तुष्टि सार्वजनिक बन्दै गएको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितका पदाधिकारीहरूले सोमबार पत्रकार सम्मेलन गर्दै हालको एन्फा नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
नक्सालस्थित एक क्याफेमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रविन्द्र चन्द ठकुरी र रुपेश अधिकारी सहभागी थिए। उनीहरूले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको राजीनामा माग गर्दै नेतृत्वका लागि तीन स्पष्ट विकल्प अघि सारे — राजीनामा, अर्ली इलेक्सन (पूर्वनिर्वाचन) वा तत्काल शीर्ष डिभिजन लिग सञ्चालन।
वरिष्ठ उपाध्यक्ष खड्काले नेतृत्वले सुशासन कायम गर्न नसकेको आरोप लगाए। उनले भने,
“एन्फाले पारदर्शिता र उत्तरदायित्व कायम गर्न सकेको छैन। बहराइनमा खेलिएको होम खेलको २० हजार डलर अझै आएको छैन, अहिले हामी आफ्नो होम खेल भिएतनाम गएर खेल्दैछौं। यस्तो अवस्थामा नेतृत्वले आत्ममूल्यांकन गर्न आवश्यक छ।”
खड्काले एन्फा अध्यक्षलाई प्रत्यक्ष सम्बोधन गर्दै भने,
“यदि तपाईंहरूलाई फुटबल गर्न मन छैन भने कृपया तत्काल राजीनामा दिनुहोस्। हामी फुटबल गर्छौं, हामीले २०७९ सालमा डबल राउण्ड रोबिन लिग सञ्चालन गरेका थियौं। त्यसपछि लिग किन हुन सकेन?”
त्यससँगै उनले एन्फाको अर्ली इलेक्सन गर्नुपर्ने आवश्यकता जोडदार रूपमा उठाए।
“यदि राजीनामा पनि नदिने र लिग पनि नगर्ने हो भने अब अर्ली इलेक्सन अपरिहार्य छ,” उनले भने।
पत्रकार सम्मेलनमा सदस्य रविन्द्र चन्दले पनि नेतृत्वको बहुमत दम्भ र स्रोत जुटाउने असक्षमताका कारण फुटबल स्थिर हुन नसकेको टिप्पणी गरे।
“कार्यसमितिमा हाम्रो कुरा सुन्ने वातावरण छैन। आन्तरिक स्रोत जुटाउन नसक्दा फुटबलका कार्यक्रम ठप्प छन्,” चन्दले भने।
खड्काले थपे, एन्फाले हालसम्म फुटबल विकासका प्राथमिक क्षेत्रहरूमा कुनै ठोस प्रगति गर्न सकेको छैन। मकवानपुरस्थित एन्फा एकेडेमीमा खेलाडीको मृत्यु प्रकरणमा छानबिन हुन नसक्नु, पीडित परिवारले न्याय नपाउनु, आर्थिक कारोबारमा अपारदर्शिता, र अन्तर्राष्ट्रिय मापदण्डअनुसार रंगशाला तयार नहुनु जस्ता विषयमा उनले नेतृत्वको आलोचना गरे।
उनले विश्वकप टिकट तथा खेल पोशाक खरिदमा अनियमितता भएको आरोपसमेत लगाउँदै भने,
“निर्णयहरू समयमा कार्यान्वयन हुन नसक्दा नेपाली फुटबल थप संकटमा परेको छ। अब नेतृत्वले जिम्मेवारीपूर्वक निर्णय गरेर फुटबललाई दुर्घटनाबाट जोगाउनुपर्छ।”
पछिल्ला करिब साढे दुई वर्षदेखि एन्फाले शीर्ष डिभिजन लिग सञ्चालन गर्न सकेको छैन। संघले पुस महिनामा लिग गर्ने योजना सार्वजनिक गरे पनि क्लबहरूसँगको सहमति अझै हुन सकेको छैन।
वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारीहरूले भने स्पष्ट सन्देश दिएका छन् —
“फुटबल रोक्ने होइन, अघि बढाउने समय हो। त्यसका लागि नेतृत्वले या त जिम्मेवारी लिनुपर्छ, या बाटो खोलिदिनुपर्छ।”

