काठमाडौँ । अश गार्डनरको शानदार शतकको मद्दतमा अष्ट्रेलियाले महिला विश्वकपको उद्घाटन खेलमा न्युजिल्यान्डलाई ८९ रनले पराजित गर्दै उपाधि रक्षा अभियान विजयी सुरुवात गरेको छ ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा ३२६ रनमा अलआउट भयो । ७ पटकको च्याम्पियन अष्ट्रेलियाले १२८–५ को अवस्थामा परेपछि गार्डनरले आक्रमक पारी खेलेर टोलीलाई ठूलो स्कोरसम्म पुर्याइन् । उनले ८३ बलमा ११५ रन बनाइन्, जसमा १२ चौका र ३ छक्का समावेश थियो ।
न्युजिल्यान्डले पनि कप्तान सोफी डेभाइनको उत्कृष्ट शतकका कारण खेलमा फर्कने संकेत देखाएको थियो । ०–२ को अवस्थामा ब्याटिङ गर्न आएका डेभाइनले ११२ बलमा ११२ रन बनाउँदै १२ चौका र ३ छक्का प्रहार गरिन् । तर अन्तिमतिर अन्नाबेल सुदरल्यान्डले उनलाई आउट गरेपछि न्युजिल्यान्डको आशा सकियो ।
सुदरल्यान्डको ४३औं ओभरमै डेभाइनसहित ३ विकेट गुमाएपछि न्युजिल्यान्डको पारी धराशायी भयो । अन्ततः न्युजिल्यान्ड ४३.२ ओभरमा २३७ रनमै अलआउट भयो र अष्ट्रेलियाले ८९ रनको सानदार जित दर्ता गर्यो ।
यसअघि अष्ट्रेलियालाई फिबी लिचफिल्डले ३१ बलमा ४५ रनको तेज सुरुवात दिलाएकी थिइन् । तर उनको विकेट गएपछि रनको गतिमा गिरावट आयो । गार्डनरले ताहलिया म्याकग्रा (६४ रनको साझेदारी) र किम गार्थ (६९ रनको साझेदारी) सँगै टोलीलाई ठूला साझेदारी दिलाउँदै इनिङ सम्हालिन् ।
न्युजिल्यान्डका लागि कप्तान डेभाइन बाहेक अन्य ब्याटरले ठूलो योगदान दिन नसके । अन्ततः अष्ट्रेलियाले आफ्नो उपाधि रक्षा अभियान उत्कृष्ट ढंगले सुरु गरेको छ ।

