काठमाडौँ । आगामी वर्ष हुने फिफा विश्वकपका खेलहरूको समयतालिका फेरबदल हुने सम्भावना बढेको छ । पछिल्लो क्लब विश्वकपमा अमेरिकाको तातो मौसमले खेलाडी र प्रशिक्षकलाई समस्या पारेपछि फिफाले मध्यरातपछिका समयमा खेल तोक्ने तयारी गरेको हो ।

अघिल्लो अनुमानअनुसार विश्वकपका खेलहरू क्लब विश्वकपजस्तै समयमै हुने अपेक्षा गरिएको थियो । त्यतिबेला खेलहरू बेलायत समय अनुसार बेलुकी ५ बजे, ८ बजे, ११ बजे र बिहान २ बजे सुरु हुन्थे ।

तर यो समय विशेषगरी युरोपेली प्रसारकका लागि त उपयुक्त भए पनि अमेरिकामा दिउँसोको चर्को गर्मीमा खेल खेल्नुपर्ने चुनौती देखिएको छ । पेरिस सेन्ट–जर्मेनका प्रशिक्षक लुइस एनरिकले एट्लेटिको म्याड्रिडविरुद्ध लस एन्जेलसमा भएको खेल अत्यधिक तापक्रम (४० डिग्री नजिक) मा खेल्नुपरेको भन्दै गुनासो गरेका थिए । चेल्सीका एन्जो फर्नान्डेजले त खेल्दा खेल्दै टाउको घुम्ने समस्या भएको बताएका थिए ।

कन्काकाफ अध्यक्ष तथा फिफाका उपाध्यक्ष भिक्टर मोंटाग्लियानीले ट्विकेनह्याममा भएको लीडर्स कन्फरेन्स मा भने, “सबैभन्दा ठूलो सिकाइ भनेकै खेलको समय हो ।”

उनका अनुसार, ४८ टोली सहभागी हुने विश्वकपमा समूह चरणमै लगातार ११ दिन ४–४ खेल हुनेछन् । बिहान १२ बजे (स्थानीय समय) हुने खेलहरू सामान्य हुने अपेक्षा भए पनि सबै खेललाई छाना भएको स्टेडियममा राख्न सम्भव छैन ।

मोंटाग्लियानीले भने, “हामी युरोपेली र विश्वभरका मिडियासँग लगातार छलफल गरिरहेका छौं । कुन स्टेडियममा दिउँसो खेल्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको छ । समयतालिका बनेपछि सम्भव भएसम्म उपयुक्त बनाउने प्रयास गरिनेछ, तर सबैलाई परिपूर्ण बनाउन सकिन्छ भन्ने ग्यारेन्टी छैन ।”

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही खेल असुरक्षित शहरबाट सार्नुपर्ने धम्की दिएका थिए । तर मोंटाग्लियानीले यसबारे प्रस्ट पार्दै भने, “यो अधिकार फिफाकै हो । कुनै पनि राष्ट्रप्रमुख वा राजनीतिज्ञले खेल सर्ने–नसर्ने निर्णय गर्न सक्दैनन् । विश्वकप फिफाको हो र निर्णय उनीहरूकै हुन्छ।”

उनले थपे, “हामी १६ वान्यूमा केन्द्रित छौं । सबैको सम्मान छ, तर फुटबल राजनीतिक नेताभन्दा ठूलो हो।”

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *