काठमाडौँ । गोंकालो रामोसले अन्तिम मिनेटमा गरेको विजयी गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले बार्सिलोनालाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ ।

बार्सिलोनाले खेलमा अग्रता लिए पनि अन्ततः गत सिजनको ट्रेबल विजेता पिएसजी विजयी बन्न सफल रह्यो । पहिलो हाफमा मार्कस रासफोर्डको क्रसमा फेरेन टोरेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, नुनो मेन्डेसको दौडपछि सन्नी मायुलुले गोल गर्दै पिएसजीलाई बराबरीमा फर्काए । १९ वर्षीय मायुलुको शान्त फिनिशले खेललाई १–१ बनाएको थियो ।

अन्तिमतिर दबाब सिर्जना गरिरहेका पाहुना टोलीले ९०औं मिनेटमा गोल गर्न सफल भयो । अक्राफ हाकिमीको क्रसमा सब्स्टिच्युट गोंकालो रामोसले पहिलो टचमै प्रहार गर्दै बार्सिलोनामाथि ऐतिहासिक जित सुनिश्चित गरे ।

यो पहिलो पटक हो, जब युरोपियन प्रतियोगितामा कुनै टोलीले बार्सिलोनाविरुद्ध घरेलु मैदानमा अन्तिम मिनेटमा निर्णायक गोल गरेको छ ।

खेलपछि रामोसले भने, “हामीले जित योग्य थियौं । हामी उनीहरूभन्दा राम्रो खेल्यौं र आफ्नै शैलीमा खेल्यौं । हामी फेरि सबै उपाधि जित्न चाहन्छौं । गत सिजनमा जे पायौं, त्यसमा मात्रै सन्तुष्ट छैनौं, अझ बढी चाहिन्छ।”

यस जितसँगै पिएसजीले दुई खेलमै ६ अंक जोडेको छ भने बार्सिलोनाले ३ अंकमा सीमित भएको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *