काठमाडौँ । ग्याब्रियल मार्टिनेली र बुकेयो साकाको गोलको मद्दतमा आर्सनलले च्याम्पियन्स लिग समूह चरणमा लगातार दोस्रो जित दर्ता गरेको छ । आर्सनलले ग्रीसको ओलिम्पियाकोसलाई २–० ले पराजित गरेको हो ।
पहिलो खेलमा एथलेटिक क्लबविरुद्ध गोल र असिस्ट दुवै गरेका ब्राजिली फर्वार्ड मार्टिनेली फेरि निर्णायक साबित भए । खेलको १२औं मिनेटमा स्ट्राइकर भिक्टर ग्योकरेसको प्रहार गोलपोस्टमा ठोक्किँदा गोलकिपरले बचाएको बललाई मार्टिनेलीले सजिलै रिबाउन्डमा गोलमा परिणत गरे ।
इन्जुरी टाइममा प्रवेश गरेको खेलमा दोस्रो गोल बुकेयो साकाले गरे । साकाको प्रहार ओलिम्पियाकोसका गोलकिपर कोन्स्टान्टिनोस त्जोलाकिसको खुट्टामाझैँ हुँदै नेटमा प्रवेश गरेको थियो ।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले आइतबार न्युक्यासलविरुद्धको नाटकीय जितपछि यस खेलमा ६ खेलाडी परिवर्तन गरेका थिए । यसअघि £२५० मिलियन खर्च गरेर ८ नयाँ खेलाडी अनुबन्ध गरेको आर्सनलले टोलीको गहिराइलाई प्रयोग गर्दै डेक्लान राइस र साकाजस्ता मुख्य खेलाडीलाई आराम दिने अवसर पाएको हो ।
ओलिम्पियाकोसले पनि केही अवसर सृजना गरेको थियो । ड्यानियल पोडेन्सको उत्कृष्ट भलिभरि प्रहारलाई आर्सनलका गोलकिपर डेविड रायाले सुन्दर बचाउ गरे । त्यस्तै, फ्रान्सिस्को चिकीन्होले गरेको गोल भने अफसाइडका कारण अस्वीकार गरियो ।
तर, अर्कोतर्फ आर्सनलले पनि अवसरहरू सिर्जना गरेको थियो । कप्तान मार्टिन ओडेगार्डलाई त्जोलाकिसले रोके भने ओलिम्पियाकोसको दृढ डिफेन्सिङले थप गोल हुन दिएन ।
यस जितसँगै आर्सनलले समूह चरणको सुरुवात उत्कृष्ट बनाएको छ र लगातार दुई खेलमा ६ अंक जोडेको छ ।

