काठमाडौँ । एरिक डायरले अन्तिम मिनेटमा पाएको पेनाल्टी गोलबाट ए एस मोनाकोले म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगमा रोमाञ्चक बराबरी खेल निकाल्न सफल भएको छ ।
नर्वेका स्टार स्ट्राइकर एर्लिङ ह्यालान्डले दुई गोल गर्दै सिजनको शानदार सुरुवातलाई निरन्तरता दिएका थिए । उनले पहिलो हाफमै दुई गोल गर्दै प्रतियोगितामा आफ्नो व्यक्तिगत गोल संख्या ५० खेलमै ५२ पुर्याए ।
तर, अन्तिम क्षणमा मोनाकोले बराबरी निकाल्दा सिटीको जितको सपना टुट्यो । ९०औं मिनेटमा डायरले पाएको पेनाल्टीलाई सफलतापूर्वक गोलमा परिणत गरेका थिए । उनलाई सिटीका निको गोंजालेजले टाउकोमा लात हानेपछि रेफ्रीले पेनाल्टीको निर्णय गरेका थिए ।
खेलको सुरुवाती १५ मिनेटमा ह्यालान्डले कुनैपनि टच लिन सकेका थिएनन् । तर पहिलो अवसरमै उनले जोस्को ग्भार्डियोलको पास समातेर गोलकिपर फिलिप कोहनमाथि चिप शट हानेर उत्कृष्ट गोल गरेका थिए ।
तर, त्यसको तीन मिनेटमै जोर्डन तेज़ेले बाहिरैबाट प्रहार गरेको जोरदार स्ट्राइकले सिटीका गोलकिपर जियानलुइजी डोनारुम्मालाई कुनै मौका दिएन र खेल १–१ को बराबरीमा फर्कियो ।
फिल फोडेनले भने पुनः अग्रता दिलाउने अवसर गुमाए । उनले आफ्नो कमजोर खुट्टाबाट प्रहार गर्दा बल क्रसबारमा ठोक्कियो । तर ह्यालान्डले पहिलो हाफको अन्त्यतिर निको ओ’रिल्लीको क्रसलाई हेडिङमार्फत गोल गर्दै व्यक्तिगत दोस्रो तथा टिमका लागि अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा मोनाकोका म्यागनेस अक्लिउचेको प्रहारलाई डोनारुम्माले रोक्न सफल भए पनि अन्तिम मिनेटमा डायरको पेनाल्टी गोलले खेल बराबरीमा टुंगियो ।
यस बराबरीसँगै म्यानचेस्टर सिटीको अपराजित यात्रा ६ खेलसम्म पुगेको छ भने मोनाकोले घरेलु मैदानमा महत्वपूर्ण अंक बाँडेको छ ।

