काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले निरन्तर उत्कृष्ट गोल स्कोरिङ् प्रदर्शन जारी राख्दै दुई गोल गर्दा जर्मन च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा साइप्रसको पाफोसलाई ५–१ ले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा पाफोसले पहिलोपटक च्याम्पियन्स लिगको मुख्य चरणमा घरेलु मैदानमा खेल खेलेको थियो । तर, खेलको १५औँ मिनेटमै केनले माइकल ओलिसेको पासमा पहिलो गोल गर्दै बायर्नलाई अग्रता दिलाए । पाँच मिनेटमै राफाएल गुएरेइरोले दोस्रो गोल थपे भने चेल्सीबाट ऋणमा आएका निकोलास ज्याक्सनले पहिलो गोल गर्दै स्कोर ३–० बनाए ।

३४औँ मिनेटमा केनले दोस्रो व्यक्तिगत गोल गर्दै टोलीलाई ४–० को अवस्थामा पुर्‍याए । यद्यपि पहिलो हाफ सकिनुअघि पाफोसका मिष्लाभ ओर्सिचले २० यार्ड दूरीबाट उत्कृष्ट गोल गर्दै स्कोर ४–१ बनाए ।

दोस्रो हाफमा बायर्नले पुनः दबाब कायम राख्यो । ६५औँ मिनेटमा ओलिसेले टाइट एङ्गलबाट बल जालीमा पठाउँदै पाँचौँ गोल गरे । अन्तिमतिर सर्ज जिनाब्री र ज्याक्सन दुवैको प्रहार पोस्टमा लाग्दा बायर्नले फराकिलो जितलाई अझ बढाउन सकेन ।

यो जितसँगै बायर्नले यो सिजनमा खेलेका सबै ९ खेलमा जित हात पारेको छ । जर्मन क्लबले अहिलेसम्म ३५ गोल गरिसकेको छ र च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

ह्यारी केनले भने बायर्नका लागि करियरको १०५ खेलमै १०२ गोल पुर्‍याएका छन् । उनले यो सिजन ९ खेलमै १७ गोल गरिसकेका छन्, जसमा पछिल्ला ५ खेलमै ११ गोल छन् । यसअघि उनले इंग्ल्यान्डको जर्सीमा पनि सर्बियाविरुद्ध ५–० को जितमा एक गोल गरेका थिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *