काठमाडौं । युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा अन्तिम खेलमा वेस्टइन्डिजले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।
शारजाहमा नेपाली समय अनुसार मंगलबार बेलुका सवा ८ बजे सुरु भएको खेलमा नेपालले टोलीमा दुई परिवर्तन गरेको छ। आरिफ शेख र लोकेश बमलाई प्लेइङ–११ मा समावेश गरिएको छ भने ललित राजबंशी र आशिफ शेखलाई बाहिर राखिएको छ।
नेपाल यसअघि दुई खेल जित्दै सिरिजलाई २–० ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा १९ रनले र दोस्रो खेलमा ९० रनले विजयी बनेको नेपाल ऐतिहासिक ३–० क्लिन स्विपको लक्ष्यमा मैदानमा उत्रिएको हो।
टेस्ट मान्यता प्राप्त राष्ट्रसँग पहिलो पटक दुईपक्षीय सिरिज खेलिरहेको नेपालका लागि यो उपलब्धि ऐतिहासिक मानिएको छ। उता, वेस्टइन्डिज भने अन्तिम खेल जित्दै सिरिजमा सान्त्वना खोज्ने प्रयासमा रहनेछ।

