राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरको मैत्रीपूर्ण भलिबल म्याच आयोजना गर्ने प्रस्ताव राखेका छन् ।

त्रिपुरेश्वरस्थित स्तरोन्नती गरिएको राखेपको कभर्डहलमा खेलाइएको मैत्रीपूर्ण खेल अघि कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको स्तर उकास्न र खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्न यस्ता प्रतियोगिताको आवश्यकता रहेको बताए ।

सदस्य–सचिव घिसिङले विशेषगरी नेपाली महिला भलिबल टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताअघि एक्सपोजर गेमको आवश्यकता रहेकोमा जोड दिए । उनले भने– ‘नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्न र दर्शकहरूलाई नयाँ उत्साह दिन पनि यस्ता म्याचहरू आयोजना गर्नुपर्छ ।’ उनले नेपाल भलिबल संघ र प्रशिक्षकहरूलाई यसका लागि तत्काल योजना बनाउन आग्रह गरे ।

सदस्य–सचिव घिसिङले खेलाडीको सामाजिक सुरक्षा, पुरस्कार र प्रोत्साहन भत्ताको व्यवस्थालाई पनि प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने– ‘खेलाडीहरू खेलकुदको मुटु हुन्, र उनीहरूको हितमा हामीले काम गर्नुपर्छ ।’
सदस्य–सचिव घिसिङले खेलकुद संरचनालाई थप प्रभावकारी बनाउन र पुराना समस्याहरू समाधान गर्न योजनाबद्ध रूपमा काम गर्ने बताए । उनले नेपालमा खेलकुदको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा थप अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता जनाए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *