काठमाडौं — केही सञ्चारमाध्यममा नेपाल र बंगलादेशबीच आगामी साता हुने भनिएको पुरुष फुटबलको मैत्रीपूर्ण खेलबारे गलत सूचना फैलिएकोप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस विज्ञप्तिमार्फत एन्फाले भदौ २१ र २४ गते (सेप्टेम्बर ६ र ९, २०२५) का लागि तय भएको FIFA International Window अन्तर्गत बंगलादेशमा नेपालले मैत्रीपूर्ण खेल खेल्ने भनेर विभिन्न प्रकारका समाचार सम्प्रेषण भएकोमा दु:ख व्यक्त गरेको छ। एन्फाले स्पष्ट पारेको छ कि यसबारे बंगलादेश फुटबल महासंघसँग कुनै प्रकारको समझदारी वा संवाद भएको छैन।

विज्ञप्तिमा भनिएको छ, “नेपालले बंगलादेश र भुटानसहित विभिन्न राष्ट्रसँग खेल्ने अवसर जुटाउन, खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउन र श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि तयारीस्वरूप पहल गरिरहेको भए पनि हालसम्म कुनै औपचारिक सम्झौता भइसकेको छैन।”

यस्तै, बंगलादेशमा जुलाई ६ देखि एएफसी र फिफाको सहकार्यमा आयोजित “फुटबल म्यानेजमेन्ट” तालिममा भाग लिन गएको एन्फा टोलीको उपस्थितिलाई लिएर भ्रामक समाचार प्रकाशित भएकोप्रति पनि एन्फाले आपत्ति जनाएको छ।

एन्फा प्रवक्ता सुरेश शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, “यस्ता भ्रामक र आधारहीन समाचारले खेलप्रेमी तथा पत्रकारिता पेसामा प्रतिकूल असर पार्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन आग्रह गर्दछौं।”

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *