काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिम रोयल्सले धनगढीस्थित एसपीए कलेजसँगको सहकार्यलाई निरन्तरता दिने घोषणा गरेको छ। पहिलो सिजनदेखि नै सहकार्य गर्दै आएका दुबै पक्षबीच अब अगामी दुई सिजनसम्म साझेदारी कायम रहनेछ।

एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी (SPA) समेत सञ्चालन गर्दै आएको छ, जसले शिक्षा र खेललाई सँगसँगै अघि बढाउने दृष्टिकोण राखेको छ।

एसपीए कलेजका प्रबन्ध निर्देशक तथा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विकास समितिका अध्यक्ष सुभाष शाहीले भने,

“खेलकुदले युवालाई प्रेरणा दिने ठूलो शक्ति राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले विद्यार्थीलाई कक्षाकोठाबाहिर पनि बढ्न सहयोग गरेको छ।”

यसैबीच, एसपीए कलेजले हालै एसीसी यु–१६ इस्ट जोन कप जित्न सहयोग पुर्‍याउने सचिन भट्ट र सुशील रावललाई जनही रु २५,००० पुरस्कार प्रदान गरेको छ। सुशील सिजन १ को ‘ट्यालेन्ट हन्ट’ बाट सुदूरपश्चिम रोयल्स हिरोज टिममा छनोट भएका थिए।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुभाष शाहीप्रति आभार व्यक्त गर्दै भने,

“फाप्ला रंगशालाप्रतिको उहाँको समर्पण र क्रिकेटप्रतिको लगावले सुदूरपश्चिमलाई एउटा ब्रान्ड बनाएको छ। आगामी दिनमा पनि यो सहकार्य अझ सशक्त बनाउने हाम्रो चाहना छ।”

खड्काले शाहीको नेतृत्वमा आयोजना हुने आगामी फ्रेन्चाइज लिगहरूमा सुदूरपश्चिम रोयल्सको सक्रिय सहभागिता रहने संकेतसमेत गरेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *