काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वाधिक लोकप्रिय फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले अण्डर–१६ राष्ट्रिय टोलीका उदयीमान खेलाडी सुशील रावललाई १ लाख रुपैयाँको अभ्यास सहयोग प्रदान गरेको छ।
सुदूरपश्चिम रोयल्सले एनपीएलको पहिलो सिजनमा आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट छनोट भएका आठ ‘हिरो’मध्ये रावल पनि एक हुन्। हालै सिंगापुरमा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कपमा उनले नेपाली टोलीबाट शानदार प्रदर्शन गरेका थिए। नेपाललाई उपाधि जिताउने यात्रामा उनको योगदान उल्लेखनीय रह्यो।
सहयोग हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रकाश खड्काले भने,
“हामी अत्यन्तै हर्षित छौं। हाम्रो ट्यालेन्ट हन्टमार्फत छनोट भएका खेलाडीहरूले राष्ट्रिय तहमा पुग्नु हाम्रो प्रयासको सफल उदाहरण हो। सुशील रावलजस्ता अनुशासित र प्रतिभाशाली खेलाडीलाई सघाउन पाउनु गर्वको विषय हो।”
खड्काले सुदूरपश्चिम क्षेत्रमै थुप्रै प्रतिभा लुकेका भन्दै भविष्यमा थप ट्यालेन्ट पहिचान र विकासमा केन्द्रित हुने बताए।
“हामी निरन्तर नयाँ ट्यालेन्ट खोज्न र उनीहरूलाई प्रोत्साहित गर्न प्रतिबद्ध छौं। एनपीएलको आगामी सिजनका लागि पनि भव्य तयारी भइरहेको छ। फ्यानहरूले केही समय धैर्य गर्नुहोस्, हामी फरक रूपमा प्रस्तुत हुँदैछौं,” उनले थपे।
सुदूरपश्चिम रोयल्सको यो पहललाई स्थानीय स्तरको खेल विकासमा निजी क्षेत्रको उदाहरणीय योगदानको रूपमा लिइएको छ। यसले देशका अन्य फ्रेन्चाइज तथा खेल संस्थाहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।

