काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतामाझ दिन प्रतिदिन बढ्दो क्रिकेटप्रतिको मोह र पछिल्लो समय नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको सफलता अत्यन्तै प्रशंसनीय भएको बताएका छन्।

शीतल निवासमा आयोजित एक विशेष समारोहमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीलाई बधाई तथा शुभकामना दिँदै राष्ट्रपतिको यस्तो भनाइ आएको हो।

राष्ट्रपति पौडेलले भने, “क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको यो सफलता खेलाडीहरूको समर्पण, निरन्तर अभ्यास र कठिन परिश्रमको प्रतिफल हो। यसले सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको छ।”

सिंगापुरसँगको फाइनल खेलमा विजयी हुँदै उपाधि उचालेको नेपाली टोलीले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाएको भन्दै उनले यसको विशेष प्रशंसा गरे।

राष्ट्रपतिले परम्परागत खेलहरूलाई संरक्षण गर्दै आधुनिकिकरण र अन्तर्राष्ट्रियकरण गर्न सकेमा देशको खेलकुद क्षेत्र अझ मजबुत बन्ने धारणा राखे। “हामीले आफ्ना मौलिक खेलहरूलाई विकास, परिष्कृत र प्रवर्द्धन गर्न सक्यौं भने यसले अन्तर्राष्ट्रिय क्षेत्रमै देशको पहिचान बलियो बनाउनेछ,” उनले थपे।

त्यस्तै, उनले खेलकुद क्षेत्रको समग्र विकासका लागि आवश्यक पूर्वाधार निर्माण, प्रतियोगिता आयोजन र नियमित प्रशिक्षणमा जोड दिँदै योग्य र प्रतिस्पर्धी खेलाडी उत्पादनमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे।

राष्ट्रपतिले नेपाली युवा पुस्ताको क्षमता र सम्भावना उजागर गर्न खेलकुदलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile