काठमाडौँ — सुरुवातमै गोल खाएर पछि परेको मेक्सिकोले शानदार पुनरागमन गर्दै मौरिसियो पोचेट्टिनोको प्रशिक्षणमा रहेको संयुक्त राज्य अमेरिका (अमेरिका) लाई २–१ ले पराजित गर्दै कन्ककाफ गोल्ड कपको उपाधि रक्षा गरेको छ।
खेलको चौथो मिनेटमै क्रिस्टल प्यालेसका रक्षक क्रिस रिचर्ड्सले सेबास्टियन बर्हाल्टरको फ्री-किकमा उत्कृष्ट हेडमार्फत गोल गर्दै अमेरिका अग्रता दिलाउन सफल भएका थिए। बल बारमा लागेर रेखा काटेपछि रेफ्रीले गोलको संकेत दिएका थिए।
तर अमेरिकाले बनाएको अग्रता २३ मिनेटमै समाप्त भयो। खेलको २७औं मिनेटमा फुलहमका फरवार्ड राउल जिमेनेजले आठ यार्ड दूरीबाट पहिलो टचमै प्रहार गर्दै गोल गर्दै खेल बराबरीमा ल्याए। उनलाई गोल गर्न मिडफिल्डर मार्सेल रुइजले सुन्दर पास उपलब्ध गराएका थिए।
जिमेनेजले गोल गरेपछि भावुक हुदै दिवंगत पूर्व टिम साथी दियागो जोटाको सम्झनामा ‘Diogo J 20’ लेखिएको जर्सी मैदानमा राख्दै श्रद्धाञ्जली व्यक्त गरे। जोटाको केही दिनअघि, २८ वर्षको उमेरमा सवारी दुर्घटनामा निधन भएको थियो।
दोस्रो हाफमा मेक्सिको पूर्ण रूपमा खेलमा हावी रह्यो। खेलको ७७औं मिनेटमा वेस्ट ह्याम युनाइटेडका रक्षक एड्सन आल्भारेजले डाइभिङ हेडमार्फत निर्णायक गोल गरे। सुरुमा उक्त गोललाई अफसाइड भनिएको थियो, तर भिडियो सहायक रेफ्री (भिएएआर) को सहायताले गोल मान्यता दिइयो।
यो जितसँगै मेक्सिकोले पुनः उपाधि जित्दै आफ्नो गोल्ड कप विजेता हैसियत कायम राख्न सफल भएको छ।
यस संस्करणको गोल्ड कपमा १६ राष्ट्र सहभागी थिए, जसमा उत्तर तथा मध्य अमेरिकाका १५ टोलीसँगै अतिथि राष्ट्रको रूपमा साउदी अरेबिया पनि सहभागी थियो। प्रतियोगिताका सबै खेलहरू संयुक्त राज्य अमेरिकामा आयोजना भएका थिए भने एक खेल मात्र क्यानडाको भ्यानकुभरमा सम्पन्न भएको थियो।
पूर्व टोटनह्याम र चेल्सी प्रशिक्षक मौरिसियो पोचेट्टिनो सन् २०२४ को सेप्टेम्बरमा अमेरिकी राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। त्यसअघि उनलाई चेल्सी क्लबबाट बर्खास्त गरिएको थियो। पोचेट्टिनोले सन् २०१९ मा टोटनह्यामलाई युरोपको प्रतिष्ठित क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए।

