डिफेन्डिङ च्याम्पियन नेपालले मलेसियामाथि एकतर्फी जित निकाल्दै एसीसी यु-१६ इस्ट जोन कपको फाइनलमा स्थान बनाएको छ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
पहिले ब्याटिङ गरेको मलेसियाले नेपाली बलरहरूको किफायती प्रदर्शनका कारण ४३.१ ओभरमा मात्र ९० रन बनाउँदै अलआउट भयो। मलेसियाका लागि मोहम्मद फातुल मुइनले ७१ बलमा सर्वाधिक ३८ रन बनाए भने कप्तान दियाज पात्रोले १० रन जोडे। अन्य ब्याटर भने दोहोरो अंकमा रन जोड्न असफल रहे।
नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। शुभम खनालले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित १२ रन खर्चेर ३ विकेट हात पारे। कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट लिए।
साधारण लक्ष्य पछ्याउने क्रममा नेपालले ११.४ ओभरमै १ विकेटको क्षतिमा जित दर्ता गर्यो। ओपनर प्रसिद्ध जैसी २ रनमा आउट भए पनि परिमार्जन यादव र शिवान्श बजगाईंले सहज जित दिलाए।
परिमार्जनले ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए भने शिवान्शले २२ बलमा ५ चौकासहित नटआउट २३ रन जोडे।
यो जितसँगै नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको हो। अघिल्लो संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई २२१ रनले हराउँदै उपाधि जितेको थियो।
अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको दोस्रो सेमिफाइनल विजेतासँग असार २१ गते (जुलाई ५) प्रतिस्पर्धा गर्नेछ।

