काठमाडौँ – इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन भारतीय कप्तान शुभमन गिलले कठिन परिस्थितिमा शतक प्रहार गर्दै आलोचकहरूको जवाफ दिएका छन्।
तीस्रो सत्रमा ब्याटिङ गर्दै गर्दा गिलले पीठमा असहजता महसुस गरेपछि उनले अंपायरसँग उपचारको अनुमति मागेका थिए। ७६औं ओभरपछि मैदानमा फिजियो आएर उनको तल्लो ढाड र खुट्टाको उपचार गर्न थाले। उपचार प्रक्रिया केही समय लामो भएपछि एजबास्टनको दर्शकदीर्घामा रहेका केही समर्थकहरू आक्रोशित बने र गिलमाथि हूटिङ गरे।
तर गिलले ती आवाजको कुनै प्रभाव नपरि आफ्नो ब्याटिङ जारी राखे। केही ओभरपछि उनले जो रुटका बलमा लगातार दुई चौका प्रहार गर्दै आफ्नो सातौं टेस्ट शतक पूरा गरे।
यो शतकसँगै शुभमन गिल भारतका चौथो खेलाडी बने, जसले टेस्ट कप्तानको रूपमा पहिलो दुई टेस्ट खेलमै सतक प्रहार गरेका छन्। यसअघि यो उपलब्धि विजय हजारे, सुनिल गावस्कर, मोहम्मद अजहरूद्दीन र विराट कोहलीले मात्र हासिल गरेका थिए।
गिलको सतकपछि ‘भारत आर्मी’ले मैदानमै उत्साहपूर्ण समर्थन जनाएका थिए। भारतीय झण्डा फहराउँदै समर्थकहरूले ‘गिल’को नारा लगाएका थिए।
गम्भीर चोटको बाबजुद संयमित तर बलियो प्रदर्शनमार्फत गिलले कप्तानका रूपमा आफ्नो प्रभाव जमाउन सफल भएका छन्।

