काठमाडौँ-
विश्व फुटबलको प्रतिष्ठित प्रतियोगिता क्लब विश्व कप २०२५ बाट इटालियन जायन्ट इन्टर मिलानले निराशाजनक विदाइ लिएको छ। समूह चरणमा शानदार प्रदर्शन गरेपनि अन्तिम १६ अर्थात प्रि-क्वाटर फाइनलमा ब्राजिलको फ्लुमिनेन्सेसँग २–० ले पराजित हुँदै इन्टरको उपाधि यात्रा समयमै टुंगिएको हो।
बैंक अफ अमेरिका स्टेडियम, शार्लोटमा भएको खेलको सुरुवातमै इन्टरले दबाब महसुस गर्यो। खेलको तेस्रो मिनेटमै फ्लुमिनेन्सेका स्टार स्ट्राइकर जर्मन क्यानोले गोल गर्दै अग्रता दिलाए। सुरुवाती गोलपछिको बाँकी समय इन्टरले बल पोजेसनमा पकड राखेपनि स्पष्ट अवसर सिर्जना गर्न असफल रह्यो।
इन्जुरी समयमा फ्लुमिनेन्सेका हर्कुलेसले दोस्रो गोल गर्दै इन्टरको सम्भावनामा पूर्णविराम लगाए।
कप्तान मार्टिनेजको कडा सन्देश:
हारपछिको प्रेस कन्फरेन्समा इन्टर मिलानका कप्तान लउटारो मार्टिनेज निकै आक्रोशित देखिए। उनले सार्वजनिक रुपमा टिमको मानसिकता र समर्पणमाथि प्रश्न उठाउँदै भने:
“जो इन्टरमा रहन चाहँदैन, उसले टिम छोडे ठीक हुन्छ। अब हामीलाई केवल इमान्दार र समर्पित खेलाडीहरू चाहिन्छ।”
उनको उक्त भनाइले इन्टरको ड्रेसिङ रूममा विद्यमान असन्तोष र नेतृत्व संकटतर्फ संकेत गरेको विश्लेषण गरिएको छ।

