आयोजक काठमाडौं महानगरपालिका वडा २६ ले काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत क्योकुसिन कराते (आईकेयु) मा सर्वाधिक ३ स्वर्ण जितेको छ । पुरुषको मात्र ५ स्पर्धा समावेश प्रतियोगितामा क्योकुसिन बुदो र काठमाडौं महानगरपालिका वडा १२ ले समान १–१ स्वर्ण जिते ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुष २५ केजीमा बालकृष्ण बुढा, ४५ केजीमा रिखीधन राई र खुला तौलसमूहमा धनबहादुर विकले आयोजकलाई स्वर्ण दिलाए । बालकृष्णले आफ्नै वडाका इमानल मगर, रिखीधनले पनि आफ्नै वडाका कैलाश राना मगर र धनबहादुरले काठमाडौं महानगरपालिका २५ का गोविन्द बस्याललाई पराजित गरे ।
पुरुष ३५ केजीमा क्योकुसिन बुदोका श्रृजन सुनुवारले काठमाडौं महानगरपालिका १२ का समरबहादुर दमाईं तथा ५५ केजीमा काठमाडौं महानगरपालिका १२ का सुसान तामाङले आफ्नै वडाका आशुतोष जैसवाललाई हराए । शीर्ष चार स्थानमा रहने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

फुटसल: तार्केश्वरलाई उपाधि
तार्केश्वर नगरपालिकाले बृहत खेलकुदअन्तर्गत पुरुष फुटसलको उपाधि जितेको छ ।
लैनचौर खेल मैदानमा भएको फाइनलमा तार्केश्वरले वडा ५ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ बराबरीमा टुंगिएको थियो । उपाधिसंगै तार्केश्वरले १ लाख ५० हजार तथा वडा ५ ले ७५ हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा वडा ५ का अक्लेश कार्की उत्कृष्ट खेलाडी तथा वडा ५ कै नितेश महर्जन उत्कृष्ट गोलरक्षक घोषित भए । वडा २६ का निराजन मल्ल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । तीनैले जनही १० हजार नगद पुरस्कार हात पारे । १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोल, तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र उप मेयर सृजना बुर्लाकोटी अर्याल, आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, आयोजक वडाका सदस्य एवं प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
जेठ ३१ गतेदेखि सुरु भएको बृहत खेलकुदमा क्योकुसिन कराते, फुटसलसहित टेबलटेनिस, कराते र तेक्वान्दो गरी ५ खेलमा प्रतिस्पर्धा भएको तेक्वान्दो संयोजक गौरव रजकले जनाएका छन् । सबै खेलको प्रतिस्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल पुरस्कार राशी ११ लाख ९० हजार रहेको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *