प्रथम बिदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ।
नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको विशाल अन्तरले पराजित गर्यो। जितको लागि १८९ रनको लक्ष्य पछ्याएको वडा नम्बर-४ ले १८. ४ ओभरमा ८३ रनमा सबै विकेट गुमायो। वडा नम्बर-४ को ब्याटिंगमा किशोर अर्यालले सर्वाधिक २५ रन बनाए भने विकास लामिछानेले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
वडा नम्बर-३ का बलर सुरज ओझाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिए। बिधान खतिवडा र निरञ्जन थापाले २/२ विकेट तथा दिनेश सुबेदीले १ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको वडा नम्बर-३ ले २० ओभरमा ८ विकेट क्षेतीमा १८८ रन बनाएको थियो। वडा नम्बर-३ का ब्याटर मन्जित थपलियाले अविजित ९४ रनको योगदान दिए। प्लेयर अफ द फाइनल घोषित उनले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।
राजेश रिजालले ४७ रन बनाए। वडा नम्बर-४ का बलर संजित तिवारी र किशोर अर्यालले २/२ विकेट लिए। उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतीयोगीताको उत्कृस्ट खेलाडी वडा नम्बर-४ का विकास लामिछानेले घोषित भए जसले १० हजार रुपैयाँ पाए।
उत्कृस्ट बलर वडा नम्बर-७ का हरिहर सुबेदी तथा उत्कृस्ट ब्याटर वडा नम्बर-३ का दिनेश सुबेदी, उदयमान खेलाडीको अवार्ड वडा नम्ब -३ का सुरज ओझाले जिते। तिन विधाका उत्कृस्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोशन विश्वकर्मालाई नुवाकोट क्रिकेट एसोसिएसनले समापन कार्यक्रममा सम्मानित गरेको छ। विजेता खेलाडीहरुलाई बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कृत गर्नु भएको थियो।

