काठमाडौं — अष्ट्रेलियाको लगातार दोस्रो पटक विश्व टेस्ट च्याम्पियनसिप (WTC) जित्ने अभियान लर्ड्समा समाप्त भएको थियो। दक्षिण अफ्रिकासँग पाँच विकेटको हारले प्याट कमिन्सको टिमलाई झट्का दिएको छ।

अब अष्ट्रेलिया २५ जुनबाट सुरु हुने वेस्ट इन्डिज भ्रमणको तयारी गरिरहेको छ। तर यस भ्रमण र त्यसपछि नोभेम्बरमा इंग्ल्यान्डसँग हुने एशेज सिरिजअघि अष्ट्रेलियाको टोली व्यवस्थापनलाई चारवटा ठूला चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ।

१. उस्मान खवाजाको लय र भविष्यप्रति शंका
३९ वर्षे अनुभवी ओपनर उस्मान खवाजाको हालको लयप्रति गम्भीर प्रश्न उठेको छ। लर्ड्समा उनले पहिलो इनिङमा २० बल खेलेर शून्य र दोस्रो इनिङमा २३ बलमा ६ रनमात्रै बनाए — दुवै पटक कागिसो रबाडाको बलमा आउट भएका थिए।

कप्तान प्याट कमिन्सले खवाजामा विश्वास व्यक्त गरे तापनि निरन्तर खराब प्रदर्शनले उनलाई प्लेइङ-११ बाट बाहिर राख्न दबाब बढ्दै गएको छ। प्रशिक्षक एन्ड्रु म्याकडोनाल्डले खवाजाको समर्पण र तयारीलाई प्रशंसा गरे पनि अन्ततः ‘रन’ नै निर्णायक हुने बताएका छन्।

२. ओपनिङ जोडीको अभाव
खवाजासँग ओपनिङ गर्ने उपयुक्त जोडीको खोजी अझै टुंगिएको छैन। हालसम्म नाथन म्याकस्विनी, ट्राभिस हेन्ड, स्याम कोन्स्टास, स्टिभ स्मिथ लगायत विभिन्न विकल्प परीक्षण गरिएको थियो।

लॉर्ड्समा मार्नस लाबुशेनलाई ओपनरको भूमिका दिइएको थियो, तर उनले १७ र २२ रन मात्र बनाए। प्रशिक्षक म्याकडोनाल्डले भने, “हामी अझै सही संयोजनमा पुग्न सकेका छैनौं।”

क्यामरुन ग्रिनलाई नम्बर ३ मा राख्ने प्रयोग असफल देखिएपछि फेरि ब्याटिङक्रममा फेरबदल हुने सम्भावना छ। एशेज अघि वेस्ट इन्डिज विरुद्ध हुने तीन टेस्ट नै नयाँ संयोजनलाई परिक्षण गर्ने प्लेटफर्म बन्न सक्छ।

३. नाथन लियोनको भूमिका कमजोर बन्दै
५५३ विकेट लिएका अफ स्पिनर नाथन लियोन अष्ट्रेलियाका महान टेस्ट बलरहरूमध्ये एक हुन्। तर हालको परिस्थिति र इंग्ल्यान्डको आक्रामक ब्याटिङ शैली (बाजबल) को कारण उनलाई प्रभावहीन बनाइरहेको छ।

लर्ड्समा उनले ३४ ओभर बलिङ गरे, तर एक विकेट पनि लिन सकेनन्। यदि टेस्ट छोटो अवधिमा सकिन थाले भने, लियोन जस्ता स्पिनरहरूलाई उपयोग गर्न कठिन हुनेछ। यस्तो अवस्थामा अष्ट्रेलियाले वैकल्पिक लेग स्पिनर वा नयाँ अनुहार ल्याउने तयारी गर्ने सम्भावना रहेको छ।

४. अनुभवी पेस अट्याक उमेरको चपेटामा
अष्ट्रेलियाको मुख्य तीव्र बलिङ आक्रमण — मिचेल स्टार्क (३५), जोश हेजलवुड (३४) र प्याट कमिन्स (३२) — सबै अनुभवि भए पनि उमेरसँग जुझिरहेका छन्। यदि चोट वा थकानले प्रभाव पार्‍यो भने प्रतिस्थापनको अभाव स्पष्ट देखिएको छ।

स्कट बोलान्ड भरपर्दो विकल्प भए पनि उनी ३६ वर्षका छन्। नयाँ बलरहरूमा ब्यू वेब्स्टर वा क्यामरुन ग्रिन जस्ता अर्ध-बलरहरूको भर पर्नु परेको छ, जसले ब्याटिङ लाइनअपलाई कमजोर बनाउँएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *