काठमाडौँ- लर्ड्समा जारी विश्व टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो दिन दुवै टिमका बलरहरू हावी बनेका छन्। पहिलो इनिङमा अष्ट्रेलिया २१२ रनमै समेटिएको भए पनि, बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई पनि दबाबमा राख्न सफल भए। दिनभरिमा जम्मा १४ विकेट खसेका छन्।

अष्ट्रेलियाका लागि स्टीव स्मिथले ६६ रन र ब्याउ वेब्स्टरले ७२ रन बनाएर टिमलाई संकटबाट उकासे। यी दुईले पाँचौँ विकेटका लागि ७९ रनको साझेदारी गर्दै ६७–४ को अवस्थामा रहेको अष्ट्रेलियालाई केही हदसम्म सम्हाले।

तर त्यसपछि कागिसो रबाडाको विस्फोटक बलिङले अष्ट्रेलियालाई सम्हालिन दिएन। रबाडाले ५ विकेट हात पार्दै अष्ट्रेलियाको अन्तिम पाँच विकेट मात्र १८ रनमा समेटिदिए।

सजाय भोगेर फर्किएका रबाडाका लागि यो प्रदर्शन विशेष रह्यो, किनभने उनले पूर्व दिग्गज एलन डोनाल्डलाई उछिन्दै दक्षिण अफ्रिकाको टेस्ट इतिहासमा चौथो सर्वाधिक विकेट लिने बलर बनेका छन्।

अष्ट्रेलियाली बलरहरूको सशक्त जवाफ
२१२ रनको न्यून स्कोरपछि दबाबमा देखिएको अष्ट्रेलियाले बलिङमार्फत उत्कृष्ट पुनरागमन गर्‍यो। सुरुवाती स्पेलमै मिचेल स्टार्कले दक्षिण अफ्रिकाका दुवै ओपनरलाई सस्तोमा पेवेलियन फर्काए। एडन माकरम इनस्विङ यॉर्करमा बोल्ड हुँदै शून्यमा आउट भए भने, रयान रिकेल्टनले उस्मान ख्वाजालाई स्लिपमा क्याच दिए।

त्यसपछि कप्तान प्याट कमिन्सले वियान मुल्डरलाई क्लिन बोल्ड गरे भने जोस हेजलवुडले ट्रिस्टन स्टब्सलाई सजिलै पार गरे।

खेलको अन्त्यसम्म दक्षिण अफ्रिकाले ४ विकेट गुमाइसकेको छ र रनसंख्या पनि निकै कम रहेको छ। दोस्रो दिनको सुरुवातमा टेम्बा बाभुमा (३ रन) र डेभिड बेडिङह्याम (८ रन) क्रीजमा रहनेछन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *