काठमाडौं। पाँचपोखरी गाउँपालिका खेलकुद विकास समिति र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा सातौँ संस्करणको पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

सिन्धुपाल्चोक जिल्लाको ७ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २७ देखि असार २ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुने आयोजकले आइतबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई विगतका संस्करणझैं यसपटक पनि ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ। यस्तै उत्कृष्ट बलर र ब्याटरले ३ महिना निशुल्क प्रशिक्षण पाउनेछन्। आयोजकले छनोट गरेका ३ उत्कृष्ट खेलाडीलाई एन्जल्स स्पोर्ट्स एकेडेमीले ३-३ महिना प्रशिक्षण सुविधा दिने भएको छ।

विगतमा सिन्धुपाल्चोकका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रावधान रहेपनि यसपटक भने केही लचकता अपनाइएको छ। यस संस्करणबाट बागमती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेर प्रदेश र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका २ खेलाडीलाई टिममा समावेश गर्न पाइनेछ। यस कदमले सिन्धुपाल्चोक जिल्लाको प्रतिभा तिखार्न र खेल संस्कारको विकास हुने विश्वास आयोजकले राखेको छ।

प्रतियोगिताको सुरुवाती ३ संस्करण स्थानीय पाँचपोखरी थाङपाल गाउँपालिकामै भएको थियो भने पछिल्ला ३ संस्करण भने मुलपानी क्रिकेट मैदानमा भएको थियो। यसपटक टियु मैदानमा खेल हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile