गुजरात टाइटन्सले आइतबार दिल्लीको अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सविरुद्ध खेलेको ६०औं आईपीएल खेलमा ऐतिहासिक प्रदर्शन गर्दै १० विकेटको सानदार जित दर्ता गरेको छ। यो जितसँगै गुजरात टाइटन्सले प्लेअफको यात्रा पक्का गरेको छ।
दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। कप्तान केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै ६५ बलमा अविजित ११२ रन बनाए। उनले १४ चौका र ४ छक्का प्रहार गरेका थिए। अभिषेक पोरेलले ३० र ट्रिस्टन स्टब्सले २१ रनको योगदान दिए।
२०० रनको कठिन लक्ष्य पछ्याउन मैदानमा उत्रिएको गुजरातका ओपनर शुभमन गिल र बी. साई सुदर्शनले ऐतिहासिक प्रदर्शन गरे। दुबै ब्याट्सम्यानले विकेट नगुमाई २०५ रनको अविजित साझेदारी गर्दै लक्ष्य सजिलै पुरा गरे।
बी. साई सुदर्शनले ५६ बलमा १२ चौका र ३ छक्कासहित १०८ रन बनाए, जबकि कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोडे। यो साझेदारी आईपीएल इतिहासमै १० विकेटको सर्वाधिक रन पछ्याउने कीर्तिमान बनेको छ।
यो जितसँगै गुजरात टाइटन्स प्लेअफको दौडमा सुरक्षित बन्दै शीर्ष चारमा प्रवेश गर्न सफल भएको छ।
दिल्ली क्यापिटल्सका लागि भने यो हारले प्लेअफ सम्भावनालाई कमजोर बनाएको छ।

