काठमाडौं, जेठ १ – इंग्लिश फुटबल क्लब लेस्टर सिटीका स्टार स्ट्राइकर जेमी वार्डीले आइतबार क्लबका लागि आफ्नो ५००औं खेल खेल्दै औपचारिक रूपमा बिदा हुने भएका छन्। आइतबारको आइप्सविच टाउनविरुद्धको घरेलु खेल उनको अन्तिम खेल हुने क्लबले पुष्टि गरेको छ।
वार्डीलाईलेस्टर सिटीको इतिहासमै सबैभन्दा सफल खेलाडीमध्ये एकको रूपमा मानिन्छ। उनले क्लबका लागि हालसम्म ४९९ खेल खेल्दै १९९ गोल गरिसकेका छन्। आइतबारको खेलमा गोल गर्न सके उनले क्लबका लागि २०० गोल पूरा गर्नेछन्।
३७ वर्षीय वार्डीले आफ्नो पेशागत यात्रा नन–लिग क्लब फ्लीटवुड टाउनबाट सुरु गरेका थिए। सन् २०१२ मा लेस्टरले उनलाई १ मिलियन युरोमा अनुबन्ध गरेको थियो, जुन त्यो समयको नन–लिग खेलाडीको लागि कीर्तिमानी रकम थियो।
उनले सन् २०१५–१६ मा लेस्टर सिटीलाई इतिहासमै पहिलो पटक प्रिमियर लिग जिताउन मद्दत गरेका थिए। जसमा उनले २४ गोल गरेका थिए।

