इलामको माइजोगमाई गाउँपालिकामा सम्पन्न तेस्रो संस्करणको माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा माङसेबुङ गाउँपालिकाले उपाधि जितेको छ। बुधबार नयाँजबरमा सम्पन्न फाइनल खेलमा माङसेबुङले देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
निर्धारित समयको दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, देउमाईका किरण मगरले २५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। बाँकी समयमा दुवै टोलीबाट कुनै गोल नहुनुका कारण खेल टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा माङसेबुङका संगिन लिम्बू, आशाङ लिम्बू, प्रविन राई र मनोज लिम्बूले गोल गर्दा देउमाईका दर्शन मुखिया मात्र गोल गर्न सफल भए। किरण मगरको प्रहार गोलपोष्टमा लागेर बाहिरिएको थियो भने आदर्श गुरुङको प्रहार माङसेबुङका गोलरक्षक आयुष लिम्बूले रोक्न सफल भए।
प्रतियोगितामा आयुष लिम्बू उत्कृष्ट गोलरक्षक घोषित भए। अन्य व्यक्तिगत विधातर्फ माङसेबुङका मनोज लिम्बू उत्कृष्ट डिफेन्स, संगिन लिम्बू उत्कृष्ट मिडफिल्डर र प्रविन राई सर्वोकृष्ट खेलाडी घोषित भए। सर्वाधिक गोलकर्ताको उपाधि देउमाईका मुकेश मगरले प्राप्त गरे।
उपाधिसँगै माङसेबुङले नगद दुई लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देउमाईले नगद एक लाख ३१ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
माइजोगमाई खेलकुद विकास परिषदको आयोजनामा भएको प्रतियोगितामा इलामका १० वटा स्थानीय तहको सहभागिता रहेको थियो।

