काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ । वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा ओपनर कविता कुँवरले ११ बलमा ४ चौकासहित १८ रनको योगदान दिइन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको बहराइनले १ विकेट गुमाएर ४१ रन जोडेको थियो ।
नेपालका लागि पुजा महतोले एकमात्र विकेट लिएकी थिइन् ।
नेपालले यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।
नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो । नेपालको ३ अंक पुग्दा हङकङको १ अंक छ । अब नेपालले मंगलबार हङकङ र विहीबार बहराइनसँग खेल्नेछ ।
समूहका २ टोलीले एक आपसमा २-२ खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्ने प्रावधान छ । तीनै समूहको शीर्ष टोलीले सुपर थ्रीमा प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

