मच्छिन्द्र फुटबल क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो।

बराबरीतर्फ उन्मुख खेलमाराजीव लोप्चनले निर्णायक गोल गरेका हुन्। उनले ८८औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बनेको थियो। फ्रिककमार्फत आएको बललाई विवेक राईले बक्सबाहिरबाट भलिको प्रयास गरेका थिए । तर, राम्रोसँग कनेक्ट नहुँदा राजीवलाई गोल गर्ने अवसर जुरेको हो। जसलाई उनले बिनागल्ती पहिलो बारतर्फ गोल गरे।

खेलको ‘प्लेयर अफ द म्याच’ पनि राजीव नै घोषित भए। उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफ र संकटा क्लब भिड्ने भएका छन्। यी दुईबीचको खेल बुधबार अपरान्ह्र ४ बजे हुनेछ।

एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० र संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्रलाई चुनौती प्रस्तुत गर्ने भएको छ। यी दुईबीचको खेल भने बिहीबार हुने तय छ। दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ।

यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile