काठमाडौं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर बाह्रखरी मिडियाले वार्षिकरूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगिता यही चैत २३ (अप्रिल ५)मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना गरिनेछ ।
एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणका रूपमा रहेको यस प्रतियोगितामा यस वर्ष करिब १२० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुनेछ ।
प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्नेछ ।
प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् ।

