चर्च ब्वाइज युनाइटेडलाई हराउँदै थ्री स्टार क्लबले नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनलमा थ्री स्टार २–० ले विजयी भएको हो। थ्री स्टारले दोस्रोपल्ट विराट गोल्डकपको उपाधि जितेको हो।

यसअघि पाँचौं संस्करण विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको थियो। यसपल्ट आर्मीलाई नै सेमिफाइनलमा ३–२ ले हराउँदै चर्च ब्वाइजसँगको भेट पक्का गरेको थियो।

चर्च ब्वाइज पहिलोपल्ट उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो। तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजले बलियो चुनौती पेस गर्न सकेनन्। थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दीपेश घलेले समान एक गोल गरे।

उपाधिसँगै थ्री स्टारले नगद ११ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो। थ्री स्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो।

नवीन लामाले निकालेको क्रसलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिए। ६३औं मिनेटमा दीपेशले वान भर्सेस वानमा डी बक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापालाई लागेर फर्किएको थियो।

फर्किएको बललाई पुनः दीपेशले प्रहार गर्दै जाली चुमाए। उनले गरेको गोल थ्री स्टारलाई उपाधि दिलाउन सफल भयो। प्रतियोगिताको म्यान अफ द म्याच थ्री स्टारका कप्तान एकराज बुढाथोकी घोषित भए र नगद ११ हजार रुपैयाँ पाए।

विधागत पुरस्कारमा पनि थ्री स्टारको वर्चस्व कायम भयो। उत्कृष्ट प्रशिक्षक थ्री स्टारका गणेश खड्का घोषित भए। उत्कृष्ट गोलकिपर थ्री स्टारका विवेक मगर र उच्च गोलकर्ता थ्री स्टारका दीपेश घले घोषित भए।

प्रतियोगिताभर उनले दुई गोल गरेका थिए। तीनै जनाले जनही नगद १५ हजार रुपैयाँ पाए। सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका खेमराज श्रेष्ठ घोषित भए र नगद ५१ हजार रुपैयाँ प्राप्त गरे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile