काठमाडौँ — कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फाल्गुनमा हुने भएको छ । नेपाल कराते महासंघको प्राविधिक सहयोग र गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा यस प्रतियोगिता गर्न लागिएको हो।
जिल्ला प्रमुख डोजो लगनखेलले प्रतियोगिता फागुन १६ देखि १८ सम्म सातदोबाटोस्थित नेपाल कराते ऐकेडेमीमा आयोजना गर्नेछ।
कराते महासंघको वार्षिक क्यालेन्डरमा समावेश प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ७५, ८४ केजीमुनि र ८४ केजीमाथि तथा एकल र टिम काता प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ एकल र टिम कातासहित ४५, ५५ ६१, ६५, ६८ केजीमुनि र ६८ केजीमाथि तौल समूह समावेश गरिएको छ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीले भाग लिनेछन् । प्रत्येक टोलीमा २१ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक रहने छ । प्रतियोगिता आयोजनाको अनुमानित बजेट ५५ लाख रुपैयाँ रहेको आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।
विजेताले ट्रफीसहित १ लाख, उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । फेयर प्ले टिमलाई ट्रफी तथा उदीयमान महिला तथा पुरुष खेलाडीलाई स्वर्ण पदकसहित आइएफले मान्यताप्राप्त कम्बो गी (पोसाक) प्रदान गरिनेछ ।

